मेरो पहिलो रजस्वला

 

भोलि श्रावन २५ गते
मेरो १४ औ जन्मदिन
आज राती आकाशमा बादल ठोकिए
मेरो पेट बेस्सरी दुख्न थाल्यो
धर्तिमा पानीका तप्प तप्प थोपा पोखिए
अनि मेरा आखाका नानीबाट आँसु बर्सिए
रातो रङ्को हिलोले आगन पोतियो
भित्र कोठामा मेरो लुगा रातो रगतले लत्पतियो
म १४ बर्ष नहुदै मरेको जस्तो भए
बाचेर पनि मरेको जस्तो भए
मेरो पहिलो रजस्वला ,मेरो १४औ जन्मदिन।

भोलि बिहान धेरै डर थोरै प्रश्न सङ्गै म उठे
दुखिरहेको तन सङ्गै आफुलाइ उठाए
आमालाइ आफू बारे बुझाए
जबाफमा आमाले आफ्नो पुरानो सुतिको धोतीका टुक्रा दिइन
अनि भनिन पर सर नानी मलाइ नछो!
हिजो सम्म आमाकै हातमा खेल्ने म
आज अछुतो भएछु
म नछुनी भएछु ।।

पहिलो दिन.
म नछुनी भए देखि तिमिले भने जसरी मैले केही छोएन आमा
१. मनको कुनामा बस्ने ढुङ्गाको मुर्ती
२.घरको बिचैमा बस्ने माटोको चुलो
३.अनि घरको एउटा कुनामा बस्ने  सिल्टिको गाग्री
४.त तिमिले भन्नै बिर्सिएछेउ आमा
यो हावा
अब भनिदेउ यो हावा अछुतो भयो
जस्लाइ मैले छोएको छु
भनिदेउ यो हावाको  श्वास कसैले नलगुन
जहाँ मैले श्वास फेरेको छु ।

सिल्पटका दुई भाडा र पराल्को एउटा गुन्द्री यी दुई हातले समाए
नारिको जात र भाग्यले मलाइ छाउपडी सम्म डोराए
अनि चल्दै र छल्दै आएका परम्पराले एक्लै छोडिदिए
भाग्यले डोराएको छाउपडिमा छिर्न खोज्दा
मेरो भाग्य नभएको निधार ठोकिएर रगताम्मे भयो
तिमिले दिएको पुरानो सुतिको धोतिको टुक्राले म कहाको घाउ निको पारु आमा??
निधारको?
मनको??
या यौनिको???
 
दोस्रो दिन..
आमा, यो बर्षामा छाउपडी को छानो बाट पानी खस्छ
दिनहु मेरो शरिरबाट पेट खस्छ
यो खसेको कर्मलाइ केस्ले कसु आमा??
छाउपडी भित्र जान हावा डराउछ
बाहिर म आउदा समाज डराउछ
यो हावा नभएको ठाउमा म कसरी बसु आमा??

तेस्रो दिन ...
आज मलाई एक्दम गाह्रो भाछ आमा
टाउको मा पसिना बाफिराछ ,खुट्टामा रगत जमिराछ
छाउपडिले दिउसै तरसाइराछ
कोहि आएर यो चलेको प्रथालाइ छलिदेउन है
हेरौ पृथ्बी कहानेर गहिरो गरी भासिन्छ
कि मेरो शरिरमा भन्दा ठूलो कतै पहिरो जान्छ र आमा ??
काम ज्वोरोले मलाइ कमजोर बनायो
 कसैले नदेख्ने गरि गाइको एक गिलास दूध ल्याइदेउन है
बिहान रगताम्मे भुइ लिप्न  गोबर ल्याउन गोठमा जादा गाइलाइ झुक्किएर छोएको थिए
कि गाईले पनि आज दूध दिएन र आमा??

चौथो दिन ....
रक्तश्राब महिलालाई श्राप होइन भनी म कसरी तिमिलाइ बुझाउ
गाउको  छाउमा कोहि सर्पले टोकिए र मारिए
कोहि केही बोलेन
कोहि निस्सासिए र मारिए
कोहि केही बोलेन
कोहि बलत्कृत भए र मारिए
केही कोहि बोलेन
अब यहाँ मेरो स्वास तिम्रो अन्धबिश्वासले लग्यो भने तिमी केही  बोल्छेउ कि नाइ आमा ??

Comments

Popular posts from this blog

आजको मान्छे

Half part of my life

सम्झना