हरियो बत्ती
निभाइदेउन ए माया
यो जलेको मुटुको आगो
आगोको रातो राप निभाइदेउन
गाह्रो छ
अडिरहन, उही स्थितिमा रहिरहन
गाह्रो छ
बसिरहन, यथास्थितिमा रहिरहन
तिमीलाई त थाहा छ नि समयको महत्त्व
अवगत छ नि समयको गति ।
निभाइदेउन ए माया यो रातो राप
यो रातो राप ,ट्राफिकको रातो बत्ती झै भएको छ
यहां अहिले सबै ठप्प छ माया
निभाइदेउन है त्यो रातो बत्ती
अहिले यहाँ समय ठप्प छ
समयको गति छैन
समय गतिलो भएको छैन
तिमीलाई त थाहा छ नि अहिले मेरो गति
अवगत छ नि समयको रफ्तार ।
मलाई नितान्त निरन्तर हिड्नु छ
पुग्नु छ कतै
पुरा गर्नु छ सपना
हिड्नु छ धेरै ,दौडनु छु बेजोडले
समयले नेटो काट्दै छ
काट्नु छ मैले कुनै परिधि
समयले सीमा पार गर्न थालिसक्यो
पार लगाउनु छ मैले आफूलाई
त्यसैले निभाईदेऊन है यो राप
यो रातो बत्ती ,
जिन्दगीमा हरियो बत्ती बालिदेऊ
मलाई हिड्नु छ छिट्टै
पुग्नु छ कतै
मैले दौंडनु छ छिट्टै
तिमी रातो बत्ती निभाइदेउन है ।
Comments
Post a Comment